दफा २५६
निजी सम्पत्ति मानिने

(१) कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछ :–
(क) आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको,
(ख) दान, बकस वा अपुताली स्वरूप प्राप्त गरेको,
(ग) चिठ्ठा वा उपहार स्वरूप प्राप्त गरेको,
(घ) पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण वापत प्राप्त गरेको,
(ङ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको
(च) कानून बमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको,
(छ) महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको,
(ज) महिलालाईपति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति,
(झ) कानून बमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको ।
(२) कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस संहिताको अधीनमा रही आफूखुसी गर्न पाउनेछ ।